कमल नेपाल: काभ्रे जिल्लाको दक्षिण भेगमा अवस्थित एक सुन्दर गाउको नाम हो बेथानचोक । जिल्लाको मात्र नभएर दक्षिण एसियामा फैलिएको महाभारत पर्वत श्रृखलाको सबैभन्दा अग्लो स्थान मुख्य आकर्षण बेथाञ्चोक नारायणस्थान (३०१८ मिटर) उचाईमा अवस्थित छ ।

नेपाललाई भौगोलिक रुपमा हिमाल, पहाड र तराई ३ भागमा विभाजन गरिएको छ । जसमा चुरे पर्वतले तराई र पहाडलाई छुट्याएको छ भने चुरेभन्दा माथि रहेको महाभारत पर्वत श्रृखलाको अग्लो स्थानमा बेथाञ्चोक नारायण भगवानको मन्दिर रहेको छ । यो आफैमा  ऐतिहासिक धार्मिक तीर्थस्थल पनि हो । यस स्थानमा विषेश गरेर फागु पुर्णीमाको दिन मेला लागे पनि दर्शनार्थीहरु बर्षै भरि पुग्ने गर्दछन् । पछिल्लो समय यस स्थान आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ । दृष्य अवलोकनको लागि प्रख्यात रहेको यस स्थानवाट १८० डिग्रीमा हिमश्रृखला अवलोकन गर्न सकिन्छ ।

Beautiful Village near Mount Mahabharat Homestay and Retreat-bethanchowk.com

विश्वमा ८००० मिटर भन्दा अग्ला १४ ओटा हिमालहरु छन् त्यस मध्ये नेपालमा ८ ओटा र नेपालको सिमानामा पर्ने तिव्वतमा १ ओटा हिमाल रहेको छ । त्यस मध्ये नेपालमा पर्ने ७ ओटा र तिव्वतमा पर्ने १ गरी ८ ओटा ८००० मिटर भन्दा अग्ला हिमालहरु बेथानचोकको एकै स्थानमा बसेर अवलोकन गर्न सकिन्छ । नेपालको पुर्वमा पर्ने मकालु बरुण देखि पश्चिममा पर्ने धौलागीरी हिमश्रृखला सम्मका हिमालहरु यस स्थानबाट स्पष्ट देख्न सकिन्छ जहाँ ६००० मिटर भन्दा अग्ला ६० ओटा हिमाल रहेका छन् भने अन्य पहिचान नभएका हिमाल हरु पनि यस स्थानबाट अवलोकन गर्न सकिन्छ । यति मात्र नभई उच्च पहाड, मध्य पहाड, महाभारत पर्वत श्रृखला दक्षिण तर्फ चुरे पर्वत, तराईका समथर फाँटहरु हुदै भारतका भुभाग समेत बेथाननचोकवाट अवलोकन गर्न सकिन्छ यसकारण यसलाई पहाडहरुको राजा अर्थात किङ्ग अफ द हिल पनि भनिएको छ । साविक ढुंखर्क, च्याम्राङबेशी, चलाल, च्यासिङ्गखर्क र महाँकालचौर भुग्देउ गाविसहरु मिलाएर बनाईएको नयाँ गाउँपालिकाको नामाकरण पनि यही बेथानचोकको नामवाट रहन गएको हो ।

बेथानचोकमा रहेको लक्ष्मी नारायणको मन्दिरमा पुजा गरे मनोकामना पुरा हुने धार्मिक विश्वास रही आएको छ जहाँ पुजा गर्नकै लागि टाढाबाट भक्तजनहरुको उपस्थिति हुने गरेको छ । बेथानचोक आसपास बनै ढकमक्क हुने गरि फुल्ने ६ प्रकारको लालीगुराँस लगायत विभिन्न सिजनमा फुल्ने प्राकृतिक फुलहरुले गहनाको काम गरेको पाइन्छ । बदेल, मृग, घोरल जस्ता बन्यजन्तु तथा डाँफे, मुनाल लगायतका चराहरु अवलोकन गर्न पनि यस स्थान उपयुक्त छ । पाँचऔले, सुगन्धवाल, लोठ सल्ला, सतुवा लगायतका २०० भन्दा बढि बहुमुल्य जडिबुटी पनि यस महाभारत पर्वत आसपासमा रहेका छन् ।

बेथानचोक नारायणस्थान मन्दिर नजिकै २ ठुला चट्टानको विचमा रहेको शिव गुफा पनि उतिकै रहस्यमय देखिन्छ जुन गुफाको भित्र छिर्न सुरुमा लाइटको अवश्यकता पर्दछ भने केहि दुरी पार गरेपछि बाहिरको प्रकाशनै अवलोकनको लागि पर्याप्त हुन्छ । गुफाको करिव २०० मिटर भित्र पुगेपछि अर्को गहिरो खोंच आउँछ यसको गहिराई आज सम्म पत्ता लाग्न सकेको छैन जसको गहिराई अन्दाज गर्न खोंचमा सिक्का फाल्ने गरिन्छ सिक्का चटनमा ठोक्किदै अन्त्यमा कुनै तरल पदार्थमा चोपिएको जस्तो आवाज आउछ जसलाई ध्यान पुर्वक सुन्नुपर्दछ । त्यस्तै बेथानचोक नारायणस्थानसंगै रहेकोे अर्को अग्लो स्थान गजराम पर्वत हो जसलाई झण्डागाडे, चुलि डाँडा नामले पनि चिनिन्छ । यस स्थानवाट पनि हिमाल देखि तराई हँुदै बिहार सम्मका दृष्यहरु अवलोकन गर्न सकिन्छ । गजरामबाट बेथानचोक नारायणस्थान तर्फको केहि दुरी पार गरेपछि भयानक भिर तथा चट्टानहरुको अवलोकन गर्न सकिन्छ जुन स्थानमा रक क्याइमिङ्गको पनि प्रवल सम्भावना रहेको छ ।

बेथानचोक गाउपालिका १ मा रहेका झरनाहरु उत्तिकै पर्यटनमैत्री छन् यस स्थानमा घुम्न राजधानीवाट पर्यटक आउने गरेका छन् जुन स्थानमा क्यानोइको प्रचुर सम्भावना पनि रहेको छ ।

दश बर्षे जनयुद्धताका चर्चामा आएको कामीडाँडा पनि यही बेथानचोक गाउँपालिका अन्तर्गत पर्दछ । भुस्वर्ग भन्दा पनि फरक नपर्ने काँमीडाँडा वास्तबमै मनमोहक छ । नेपाल अंगे्रज युद्धताका गोर्खाली सेनाद्धारा निमार्ण गरिएको बंङ्ंकर र चिया बगान यहाँको आकर्षण हो । जनयुद्धमा मात्र कामीडाडा प्रयोग नभएर यसको प्रयोग नेपाल अंग्रेज युद्धमा पनि यस स्थानको प्रयोग भएको पाईन्छ । तत्कालिन समयमा गोर्खाली सेनाहरुले ठुलो मेहेनत लगाएर तयार गरिएको बंङ्कर वास्तवमै भयानक छ । गोर्खाली सेनाहरुले अंग्रेजहरुसंग युद्ध लडेर बेथानचोक ३ मा पर्ने सानो फाँटमा बास बसेको कारण त्यस स्थानको नाम अहिले पनि गोर्खाली गाँउ रहेको छ जसले त्यसलाई थप पुष्टि गर्दछ । यद्यपी बेथानचोकमा युद्धद्धारा प्रख्यात रहेका स्थानहरु पनि उत्तिकै पर्यटन मैत्री छन् ।

यही महाभारत पर्वत काखमा रहेको सुन्दर गाउँ बेथानचोक विभिधताले भरिएको छ जुन स्थान नेपालको राजधानीबाट ४४ किमी दुरीमा रहेको छ ।

विषेश गरी हिन्दू र बौद्ध धर्मालम्बीहरुको बाहुल्य रहेको बेथानचोकमा श्रीकृष्ण प्रणामी मन्दिर, मुक्तेश्वर महादेव मन्दिर, क्षेत्रपाल थानीमहाँकाल मन्दिर, लक्ष्मीनारायण मन्दिर, बेथानचोक नारायण मन्दिर, शिव पार्वती मन्दिर, कपेर महाँकालस्थान मन्दिर, तिलेश्वर महादेव मन्दिर,नाट्यश्वर महादेव, ब्रामणडाँडा मन्दिर, ग्याछ्योन ङिम्पो छोइलिङ तामाङ्ग गुम्बा, साङ् डुप गुम्बा, च्योप्तांगे गुम्बा लगायत गुम्बाहरु रहेका छन् जुन पर्यटन विकासको लागि महत्वपुर्ण छ ।

बेथानचोकमा पाइने हिमाली चामल, सेराना प्रजातिको माहुरीको मह, अल्लो, सिस्नो, खुवा लगायतका दुग्ध जन्य परिकारहरु, लोकल मकैको ढिडो, ऐंसेलु, काफल लगायतका प्राकृतिक फलहरुको स्वाद लिन पाइने यस स्थानमा घोरबाँधे, पाट्नेखोला गुफा, बाघद्धार, गुवाभञ्याङ पनि यहाका प्राकृतिक उपहारहरु हुन बाह्ै महिना बग्ने खोलाहरुले सुनमा सुगन्ध थपेका छन् । प्रायः हिउदको समयमा यहाँ हिउँ पर्ने गर्दछ हिउँ खेल्नको लागि हजारौं युवाहरु बेथानचोक आउने गरेका छन् ।

हर्कभञ्याङ, चोरण्डे, अर्खौले, आले श्रीचउर, डाँडागाउ, भुसुनेपाखा, च्याल्टिडाँडा, कामीडाँडा, थलिडाँडा, च्याम्राङबेशी, ठुलाचौर बोल्देडाँडा, महाँकालडाँडा, कामीखोरिया, ब्रामणडाँडा थप उचाईमा रहेका बस्तीहरु हुन जहाँका फरक फरक स्थानबाट फरक दृष्य देख्न सकिन्छ जस मध्ये केही स्थानहरुमा आन्तरिक तथा बाह्य पर्यटकको मागलाई मध्यनजर गर्दै सामुदायिक होमस्टेहरु पनि निर्माणका चरणमा छन् । तामाङ्ग समुदायको झाँक्री नाच, ब्राम्ह्ण समुदायको खैजेडी भजन, नेवारी समुदायको धिमे बाजा र हरेक मन्दिरमा हुने भजन यहाँका कला संस्कृतिहरु र परम्परागत शैलीमा निमार्ण ढुंगा, माटो र काठवाट बनेका घरहरु पर्यटन मैत्री छन् । परम्परागत पद्धति द्धारा स्थानिय स्तरमा गरिने खेतीपातीबाट उत्पादन हुने अर्गानिक फलफुल तथा तरकारीहरु जुन इकोटुरीजमसंग सम्बन्धित छ ।

ब्राम्ह्ण, क्षेत्री, तामाङ्ग, नेवार, मगर, दलितको मिश्रित बस्तीको रुपमा रहेको बेथानचोक आफैमा सुन्दर घना बनजंगल चरा तथा वन्यजन्तु अवलोकनका लागि महत्वपुर्ण छ । पछिल्लो समय बेथानचोक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको मागलाई मध्यनजर गर्दै केहि होटल, रिसोर्ट र  होमस्टेहरु संञ्चालनमा आएका छन् ।

राजधानीवाट नजिक रहेको अत्यन्तै सुन्दर यस स्थानमा बसेर सम्पुर्ण नेपालको अवलोकन गर्न सकिने हुँदा छोटो समय नेपाल आएर सम्पुर्ण नेपालको विविधतालाई महसुस गर्न चाहाने आन्तरिक तथा बाह्य पर्यटकको लागि यस स्थान उपयुक्त रहेको छ ।

सम्बन्धित खबरहरु