– कमल नेपाल/ धिरज मालाकार

एकै स्थानमा बसेर सूर्योदय र सूर्यास्तको दृष्यसंगै उत्तरमा देखिने हिमश्रृंखला अनि दक्षिण भेगमा देखिने समथर भुभाग दृष्य वास्तवमै मनमोहक छ । बेथानचोक नारायणस्थान र गजराम पर्वत दक्षिण एसियामा फैलिएको महाभारत पर्वत श्रृंखलामा पर्ने एक अग्लो स्थान हो जसको उचाई समुन्द्री सतहवाट ३००० मिटर भन्दा माथि रहेको छ । पछिल्लो समय यी  स्थानलाई किङ्ग अफ द हिल अर्थात पहाडहरुको राजा नामले पनि परिचित छ ।

विश्वमा ८००० मिटर भन्दा अग्ला १४ वटा हिमालहरु छन् त्यस मध्ये ८ वटा अग्ला हिमालहरु खुला मौसममा बेथानचोक नारायणस्थान र गजराम पर्वतवाट अवलोकन गर्न सकिन्छ जहाँवाट नेपालको पुर्वमा पर्ने मकालु बरुण देखि पश्चिममा पर्ने धौलागिरीसम्मका सम्पुर्ण हिमश्रृंखला यस स्थानबाट स्पष्ट देख्न सकिन्छ ।

यसको अलवा उच्च पहाड, मध्य पहाड, महाभारत पर्वत श्रृंखला दक्षिणतर्फ चुरे पर्वत, तराईका समथर फाँटहरु हुदै भारतका भुभाग समेत अवलोकन गर्न सकिन्छ ।  प्राय हरियाली रहने यहाँका जंगलले सधै आगन्तुकको आँखामा सितलता र मनमा आनन्द भरिरहेको पाइन्छ । हरेक वर्ष जंगलै ढकमक्क हुने गरि फुल्ने ६ प्रकारको लालीगुराँस लगायत विभिन्न सिजनमा फुल्ने अन्य प्राकृतिक फुलहरुले पहाडहरुमा थप सुन्दरता प्रदान गरिरहेका छन् ।

बँदेल, मृग, घोरल जस्ता जीवजन्तु तथा डाँफे, मुनाल लगायतका चराहरु अवलोकनका लागि पनि यस स्थान उपयुक्त छ । पाँचऔले, सुगन्धवाल, लौठ सल्ला, सतुवा लगायतका २०० भन्दा बढी जडिबुटीहरु यस स्थानमा प्राप्त गर्न सकिन्छ ।

गगनचुम्बी चट्टानहरुवाट बनेका पहाडहरु र चट्टान विचमा रहेको प्राकृतिक रहस्यमय गुफाहरु अन्वेषणका केन्द्रहरु हुन सक्छन् जहाँ एक उत्कृष्ट रक क्याइमिङ्गको सम्भावना पनि रहेको छ ।

जलविद्युतको प्रचुर सम्भावना बोक्दै निरन्तर बग्ने खोलाहरु वास्तवमै सुन्दर छन्  । प्रायः मंसिरदेखि फागुनसम्म बेथानचोकको उचाईमा हिउँ पर्ने संभावना रहन्छ र  हिउँ खेल्नैको निम्ति राजधानीवाट हजारौं युवा युवतीहरु बेथानचोक आउने गरेका छन् ।

नेपालको राजधानी काठमाण्डौबाट करिब ४४ कि.मी दुरीमा रहेको महाभारत पर्वत आसपास फैलिएको गाउँ बेथानचोक विविधताले भरिएको छ जुन राजधानीवाट अत्यन्तै नजिक पर्ने एक उत्कृष्ट र पृथक गन्तव्य हो ।

पर्यटन र कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको बेथानचोकको विषेश खाद्य परिकारहरुमा हिमाली चामलको खाना, सेराना प्रजातिको माहुरीको मह, अल्लो सिस्नो, खुवा लगायतका दुग्ध जन्य परिकारहरु, लोकल मकैको ढिंडो, ऐंसेलु काफल लगायतका विभिन्न प्रकारका प्राकृतिक फलहरुमा आनन्द लिन सकिन्छ ।

बेथानचोक तथा गजराम क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै माउण्ट महाभारत होमस्टे एण्ड रिट्रिट र जनाडु अर्गानिक भिलेज रिसोर्टले गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेका छन् ।

बेथानचोक ३ मा अवस्थित माउण्ट महाभारत होमस्टे एण्ड रिट्रिट र फार्म यस क्षेत्रकै पहिलो पर्यटन क्षेत्रमा आधारित फार्म हो, जहाँ खाना, बास, योग, ध्यान, अर्गानिक फार्मस्टेको अलवा यस क्षेत्रमा महाभारत हाइक, ट्रेक गाईड लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ । एक रात दुई दिनको १५००, दुई रात तिन दिनको २८०० प्रति व्यक्ति प्याकेजमा बेड, ब्रेकफास्ट, लन्च, डिनर र महाभारत हाइक सेवा प्याकेजमा समावेश छन् । गजराम पर्वत र बेथानचोक नारायणस्थानलाई लक्षित गरेर जनाडु अर्गानिक भिलेज रिसोर्ट एण्ड एग्रो फार्म सेवामा हाजिर छ जहाँ कोठाको सुबिधा अनुसार ३०००, २५०० र २२०० मा एक रात २ दिनको गुणस्तरिय सेवा उपलब्ध छ ।

जिल्लाको विभिन्न स्थानवाट बेथानचोक र गजराम पर्वतसम्म पुग्नको लागि पर्यटकीय पदमार्गहरुको निर्माण भइरहेको छ । महाभारत आसपास हाइकिङ्ग गर्ने चाहानेहरु सजिलै पहाडको माथि भ्यु–प्वाइन्टसम्म सहजै पुग्न सक्ने हुदाँ यो स्थान थप लोकप्रिय बनिरहेको छ ।

राजधानीको अस्तव्यस्त वातावरणबाट आजित भई रिफ्रेस हुन चाहानेहरुको लागि गजराम पर्वत, बेथानचोक उत्कृष्ट गन्तव्य हो । काठमाण्डौंको रत्नपार्कवाट पनौती ७० मिनेट र पनौतीबाट ढुंखर्क ४५ मिनेटको बस यात्रामा बेथानचोकको ग्रामिण बजार केन्द्र पुग्न सकिन्छ । (हाल रत्नपार्कदेखि सिधै बेथानचोक ढुंखर्कसम्म पुग्ने सार्वजनिक बस सेवा पनि उपलब्ध छ) ।

होमस्टे वा रिसोर्टमा बस्न चाहानेहरुको लागि ढुंखर्क बस पार्कदेखि ४५ मिनेट देखि १ घण्टा सम्मको दुरीमा माउण्ट महाभारत होमस्टे हुदै जनाडु रिसोर्ट पुग्न सकिन्छ । होमस्टे र रिसोर्टवाट ९० मिनेट देखि २ घण्टाको रमणिय पदयात्रा पछि महाभारत पर्वतको अग्लो स्थान बेथानचोक नारायणस्थान र गजराम पर्वत पुग्न सकिन्छ ।

अतः राजधानीवाट ४४ कि.मी दुरीमा रहेको महाभारत पर्वत अन्तर्गत अत्यन्तै सुन्दर बेथानचोक नारायणस्थान,  गजराम पर्वतको एकै स्थानमा बसेर बिहार देखि तिब्बत सम्मका भुभाग र नेपालका धेरै स्थानहरु अवलोकन गर्न सकिने हुँदा छोटो समयका लागि नेपाल आउने बाह्य तथा आन्तरिक पर्यटकहरुको लागि यो स्थान पृथक अनि उत्कृष्ट गन्तब्य बन्दै गएको छ ।

सम्बन्धित खबरहरु