नारायनस्थानमा हिउँ खेल्न, सूर्योदय र सूर्यास्तको दृश्य हेर्न राजधानी काठमाडौंदेखि पर्यटक आउने गर्छन् । उत्तरतिर सगरमाथा, धौलागिरि, गणेश हिमालको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ भने दक्षिणतिर पहाडका चुचुराहरू हुँदै तराईका फाँटले जोकोहीको मन तान्न सक्छ ।

अटन शब्दमा परी उपसर्ग लागेर बनेको पर्यटनको शाब्दिक अर्थ चारैतिर घुम्नु हो । व्यापक अर्थमा मनोरञ्जनका साथै ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक, पर्यावरणीय सम्पदाको अध्ययन/अनुसन्धानका लागि गरिने भ्रमण नै पर्यटन हो ।

संघीय राजधानी काठमाडौंबाट करिब ४५ किलोमिटरमात्रै टाढा छ रमणीय गाउँ बेथानचोक । नेपालका पर्यटकीय स्थलहरूमध्ये महाभारत शृंखलास्थित काभ्रेको बेथानचोक पनि पनि एक हो । यहाँ धेरै पर्यटकीय र धार्मिक स्थलहरू छन्।

चक्रेश्वर महादेव, क्षेत्रपाल महाँकाल, बाघभैरव, मुक्तेश्वर महादेव, श्रीकृष्ण प्रणामी मन्दिर, वैष्णव मन्दिर, महाँकालस्थान, पार्वतेश्वर, देवीस्थान, कपेर महाँकाल, कालिदेवी मन्दिर यहाँका मुख्य धार्मिक स्थल हुन् । बेथानचोक नारायणस्थान र बागनेमा गुफा पनि यहाँको हेर्न लायक र पुग्नै पर्ने स्थान हुन् । त्यसैगरी चलाल गणेस्थानमा गुम्बा छ भने मूलडाँडामा निर्माण भइरहेको छ । गुम्बु डाँडामा भ्यू टावर बनिसकेको छ भने गोलेखाल्डोमा निर्माणाधीन छ ।

च्याम्राबेंसी आन्तरिक तथा बाह्य पयर्टनका लागि महत्वपूर्ण क्षेत्र हो । यो ठाउँ काभ्रेको सबैभन्दा बढी झरना भएको क्षेत्रका रूपमा परिचित छ । यहाँका रतन, छ्याछ्याङ, तीनतले (तीनधारे) जस्ता मनमोहक झरना र छाँगा आगन्तुकको स्वागत तम्तयार छन् । च्याम्राबेंसीका फाँटहरूमा लगाएको कफीले अझै सुन्दरता थपेको छ । नमोबुद्ध, नारायणस्थान, च्याम्राबेंसी, फाँपरबारी हुँदै हेटौंडासम्म पुग्ने पदमार्ग परिकल्पना गरिएको छ ।

तराईदेखि पहाडसम्म लामो पदयात्रा गर्न बीचको क्षेत्र मानिने कामीडाँडाले पछिल्लो समय चिया बगानको परिचय बनाउँदै गएको छ । सशस्त्र द्वन्द्वका बेला माओवादी केन्द्रीय समिति बैठक बसेको एवं माओवादी सेनाको तेस्रो डिभिजनका लागि प्रस्ताव गरिएको कामीडाँडालाई राजनीतिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने सम्भावना छ । गोर्खाली सेनाले अंग्रेजलाई लखेटेको स्थानका रूपमा यसको ऐतिहासिक चर्चा छ ।

काभ्रेको सबैभन्दा उचाइमा रहेको ३०१८ मिटर अग्लो बेथानचोक नारायणस्थानलाई महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ । च्याम्राङबेंसी, ढुंखर्क, चलाल गणेशस्थान, च्याल्टी र महाँकाल चौर मिलेर बनेको बेथानचोक गाउँपालिकाको नाम लिएको छ । नारायनस्थानमा हिँउ खेल्न, सूर्योदय र सूर्यास्तको दृश्य हेर्न संघीय राजधानी काठमाडौंदेखि पर्यटक आउने गर्छन् । उत्तरतिर सगरमाथा, धौलागिरिलगायत गणेश हिमालको आकर्षण दृश्य यहाँबाट सहजै अवलोकन गर्न सकिन्छ ।

दक्षिणतिर पहाडका चुचुराहरू हुँदै तराईका फाँटहरूले जो कोहीको पनि मन लोभ्याउँछ । यहाँबाट जनकपुरदेखि भारतका केही सहरसमेत देख्न सकिन्छ । नेपालको राष्ट्रिय चरा डाँफे र राष्ट्रिय फूल लालीगुराँस र सेतो गुराँस पनि यहाँ पाइन्छ । उच्च ठाउँ भएकाले बन्जी जम्पिङको पनि सम्भावना छ । महाभारत युद्धताका पाण्डवहरूले यहाँको गुफामा हतियार लुकाउन प्रयोग गरेका थिए भन्ने किंवदन्ती सुन्न पाइन्छ । होली पूर्णिमा, जनै पूर्णिमा र नयाँ वर्षको अवसरमा मेला लाग्छ ।

अर्को किंवदन्तीअनुसार भूपतेन्द्र राजाका पालामा भगवान नाराययणलाई भक्तपुर चाँगुनारायणमा बस्ने इच्छा नभएपछि ढुंखर्कको नारायनटारमा गएछन् । त्यहाँ पनि चाँगुनारायणको जस्तै ढिक्की, जाँतोको आवाज र कुखुरा कराएको सुनेपछि नारायण भगवान दक्षिण शृंखलाको सबैभन्दा उच्च स्थानमा विराजमान हुनुभएछ । भक्तपुरमा त्यसपछि रोग व्याधीले सताउने र अनिष्ट हुन लागेछ ।

एक रात राजालाई सपनामा भगवान नारायणले यस अवस्थाबाट मुक्ति पाउने उपाय सुझाएछन् । त्यसैअनुरूप उनी दर्शनका लागि घोडा चढेर त्यहाँसम्म पुगेको भन्ने भनाइ छ । शृंखलाको केही तल चौरमा घोडा बाँधेर उभो लागेछन् । त्यस ठाउँलाई आज पनि घोडाबाधें चौर भनिन्छ । उनी तिमिल्सिना थरका आठपरियाको सहयोगमा उच्च शिखरमा पुगेर भगवान नारायणको पूजाआजा गरी फर्केछन् । त्यसपछि भक्तपुरमा अनिष्ट हुन रोकिएछ । आज पनि बेथानचोक नारायणस्थानमा गएर मागेको कुरा पूरा हुन्छ भन्ने विश्वास छ । यस ठाउँमा बलि चढाउन, माछा मासु, जाँडरक्सी लैजान र खान वर्जित छ ।

बेथानचोकको वास्तविक पुँजी भनेकै प्रकृति हो । वरिपरि महाभारत शृंखलाले घेरिएको माथितिर हरियो जंगल, त्यसभन्दा तल खेतीयोग्य जमिन र सेता जस्ताले छाइएका घर, तल धान झुल्ने समथर जमिनले सानो उपत्यकाको भान गराउँछ । समथर जमिनको बीचतिरबाट कलकल बगेको खोलाले सबैको मन लोभ्याउँछ । यहाँ उत्पादन हुने तरकारी, जडिबुटी र दूध आम्दानीका स्रोत हुन् । यहाँ जाने पर्यटकहरू खुवाको स्वाद लिएरमात्रै फर्कने गर्छन् । चिसो ठाउँ भएकाले अन्नबाली पनि स्वादिला हुन्छन् । घट्टमा पिँधेको मकैको ढिंडो र रायोको सागले नलोभिने पर्यटक कमै हुन्छन् ।

बेथानचोकमा दुर्लभ जीवजन्तु पनि त्यत्तिकै पाइन्छन् । केही समयअघि बेथानचोक– २ को महाभारत जंगलमा सेतो मृग भेटिएको थियो । हाल त्यस मृगलाई जाउलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ ।

यहाँ केही होमस्टे सञ्चालनमा आएका छन् । अझै होमस्टे र सुविधाजनक होटल सञ्चालन गर्न सके पर्यटकको आवागमन बढ्छ । त्यस्तै साना सवारी साधन र घोडचढीको सुविधा भएमा अग्ला ठाउँका भ्युटावर र धार्मिक एवं ऐतिहासिक स्थलमा पुगेर रमाउन सहज हुन्छ । ससाना बालिबालिकादेखि बूढाबूढीसम्मलाई आउजाउमा सजिलो हुन्छ ।

व्राह्मण, तामाङ नेवारको बहुल बेथानचोकमा संस्कृति पनि फरकफरक किसिमको छ । पर्यटकलाई यी फरक संस्कृति र चालचलनबारे देखाउन र बुझाउन सकिएको छैन । स्थानीय कला, संस्कृति, हस्तकला, लोकगीत, संगीतको संरक्षण गर्दै त्यसलाई पर्यटनसँग जोड्न सके पर्यटक रमाउने र स्थानीयको आम्दानी बढ्ने निश्चित छ ।

बेथानचोकका धार्मिक तथा पर्यकीय स्थलहरू प्रचारपसारको कमीले ओझेलमा परेका छन् । भिडियो तथा डकुमेन्ट्री, टिभी, रेडियो र सामाजिक सञ्जालबाट यहाँका पर्यटकीय र धार्मिक स्थलहरूको देशविदेशमा प्रचार गर्न ढिला भइसकेको छ । बेथानचोकलाई लुम्बिनी, पोखरा, मनाङ, मुस्ताङजस्तै नेपालको पर्यटकीय स्थानमा दर्ज गर्नु आजको आवश्यकता हो ।

यस क्षेत्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन गर्दै दीर्घकालीन पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय तह र सम्बद्ध व्यक्तिहरू लाग्न जरुरी छ । यसो भएको खण्डमा स्थानीय युवा श्रमकै लागि विदेसिनु पर्ने बाध्यता पनि हट्ने छ। अनिमात्र बेथानचोकवासी सुखी र यो क्षेत्र समृद्ध बन्ने छ ।

Source: https://www.khulanepal.com/2021/06/26/34395/

सम्बन्धित खबरहरु